शनिबार पुनः हुन लागेको एमबीबीएसको प्रवेश परीक्षामा व्यापक कडाई गरिदै

0
127

मंसिर १५,काठमाडौं ।  गत असोज २८ मा भएको आइओएमको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिए पछि शनिबार पुनः हुन लागेको एमबीबीएस प्रवेश परीक्षामा विद्यार्थी परीक्षा हलमा प्रवेश गर्नु अघि प्रहरीले कडा चेकजाँच गर्ने भएको छ । परीक्षा केन्द्रहरुमा फोन नलाग्ने जामर मेसिनदेखि शरीरमा रहेका सबै मेटलहरु पत्ता लगाउने ‘मेटल डिटेक्टर’सम्म प्रयोग हुने भएको छ ।

परीक्षा केन्द्रमा केन्द्रीय अनुसन्धान ब्यूरो तथा अपराध महाशाखाबाट सादा पोशाकमा समेत प्रहरी खटिनेछन् । परीक्षालाई मर्यादित बनाउन प्रहरीले जामर, ‘वाक थ्रु गेट’ (सुरक्षा ढोका) तथा मेटल डिटेक्टरको प्रयोग गर्न लागेको हो । बिहान १० देखि १२ बजेसम्म हुने परीक्षाका लागि विद्यार्थीलाई ७ बजे नै परीक्षा केन्द्रमा बोलाइएको छ । अर्काको नाममा परीक्षा दिन आउनेलाई रोक्न अनलाइन प्रिन्ट गरेर ल्याइको प्रवेश पत्र र आइओएमसँग रहेको सक्कली प्रवेश पत्र भिडाएर हेरिनेछ ।

सामान्यतया एक घन्टा बितेपछि परीक्षार्थी बाहिर निस्किन र शौचालय जान पाउने नियम भए पनि यसपल्ट परीक्षार्थीले अनिवार्य रुपमा दुई घन्टा परीक्षा हलभित्रै बिताउनु पर्नेछ । गत असोज २८ मा भएको आइओएमको प्रवेश परीक्षामा चिट चोर्ने बिद्यार्थी सहित गिरोह नै पक्राउ परेको थियो । अनुसन्धानबाट प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि आइओएम पुनः परीक्षा गराउन वाध्य भएको हो ।

गत असोज २८ मा भएको प्रबेश परीक्षामा सिम लाग्ने गोप्य डिभाइस मार्फत संगठित रुपमा चिट चोराइएको खुलेको थियो। जसमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको छ। त्यस्ता, गोप्य डिभाइस रोक्न प्रहरीले परीक्षा केन्द्रमा मोबाइल नेटवर्कले काम नगर्ने बनाउन जामर प्रयोग गर्न लागेको हो। अघिल्लो परीक्षामा प्रश्नपत्र बाहिरिएको पुष्टि भए पनि कसले र कसरी प्रश्नपत्र बाहि¥याएको थियो भन्ने खुल्न अझै सकेको छैन । यद्दपीे परीक्षा बोर्डमा भने उही कर्मचारी छन् ।