बागलुङमा वामगठबन्धनले धाधली गरेपछि कांग्रेसद्वारा पुन: मतदानको माग

0
127

मंसिर १५,काठमाण्डौं-नेपाली काँग्रेस बागलुङले जिल्लाका तीन मतदानस्थलमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै उजुरी दर्ता गरेको छ।

चुनाव सकिएको चार दिनपछि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो। नेपाली काँग्रेसले वामगठबन्धनले ‘बुथ कब्जा’ गरेको आरोप लगाएको छ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँंयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वामगठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग उजुरीमा गरिएको छ। नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं १ को प्रदेश (१) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश (२) का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएका हुन्।

उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा ‘बुथ कब्जा’ भएको उजुरीमा दाबी गरेका छन्। वामगठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना प्रतिनिधिलाई धम्काएर धाँधली गरेकोले पुनः मतदान गराउन उजुरीमा माग गरिएको छ। काँग्रेसका प्रतिनिधिलाई धम्काएको र एकलौटी रुपमा मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए।

उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको उनको भनाइ छ। मतदान अधिकृतको प्रतिवेदन र उजुरीलाई आयोगमा पठाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

नेपाली काँग्रेस भने एक्लै गठबन्धनसँग प्रतिस्पर्धामा छ। प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वामगठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन्। प्रदेशसभा १ मा नेपाली काँग्रेसबाट दीपेन्द्र थापा र वामगठबन्धनबाट एमालेका इन्द्रलाल सापकोटा चुनावी मैदानमा छन्। प्रदेशसभा २ मा काँग्रेसका प्रकाश शर्मा पौडेल र वामगठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चा कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्।

यही मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणना कार्य शुरु हुने जनाइएको छ। गत आइतबार भएको पहिलोचरणको चुनावमा बागलुङमा ६५ प्रतिशत मत खसेको छ। अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा राखिएका मतपेटिकालाई कडा सुरक्षा घेरामा राखिएको छ।