काठमाडौंका १ सय ४१ मतदानस्थल अतिसंवेदनशील सूचीमा

0
112

मंसिर १६, काठमाडौ । दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन ५ दिन बाँकी हुँदा सुरक्षा निकायले काठमाडौंका विभिन्न मतदान केन्द्रहरुलाई अतिसंवेदनशीलरुपमा हेरिएको जनाएको छ । सुरक्षा निकायले काठमाडौंका १ सय ४१ वटा मतदानस्थल संवेदनशील रहेको जनाउँदै मतदानस्थलको सुरक्षामा कडाई गरिने जनाएको हो ।

निर्वाचनको समयमा सुरक्षा निकायले सुरक्षा दिनुपर्ने स्थानकोबारेमा अध्ययन गर्दा उपत्यकाका १ सय ४१ वटा मतदानस्थललाई अतिसंवदेनशीलका रुपमा सूचीमा राखेको छ । मतदाताहरुले मतदान गर्ने स्थानमा कुनै अवाञ्छित गतिविधि हुन नदिनका लागि उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने जनाइएको छ ।

काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् । यता निर्वाचन आयोगले उपत्यकामा नै सबैभन्दा धेरै सुरक्षा संयन्त्र रहेकाले प्रहरी परिचालन गर्ने गरि कुनै अवाञ्छित गतिविधि उपत्यकामा हुन नदिन समेत सबै सुरक्षा संयन्त्रहरुलाई निर्देशन दिएको छ । यता दोस्रो चरणमा निर्वाचन हुनेमध्ये १३ जिल्लालाई विशेष निगरानीमा राखी सुरक्षा वयवस्था कडा पारिएको छ ।

४५ जिल्लामा करिब दुई लाख ८० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्याका सुरक्षाकर्मी खटिएका हुन् । सुरक्षा बलियो बनाउन मतदान केन्द्रलाई साधारण, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको गृह मन्त्रालयले जनाएको छ ।