चुनावी कार्यसूचीः प्रादेशिक राजधानीका लागि पूर्वाधार

0
117

मंसिर १६,काठमाडौँ, यहाँका उम्मेदवारले प्रादेशिक राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाएका छन् ।

निर्वाचन क्षेत्र नं २ का उम्मेदवार प्रदेश राजधानीलाई आवश्यक प्रशासनिक भवन, चार लेन सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिँचाइ, चक्रपथ र पर्यटन पूर्वाधारलगायत विषयलाई लिएर चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका १–१४ वडा, पञ्चपुरी नगरपालिका तथा चौकुने र बराहताल गाउँपालिका पर्छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि विभिन्न दलका १० जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै हुने देखिएको छ ।

काँग्रेसका उम्मेदवार हृदयराम थानी सुर्खेत उपत्यका प्रादेशिक राजधानी बन्ने लगभग निश्चित भएको जनाउँदै यसको व्यवस्थित र आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुहुन्छ । पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री थानी भन्नुहुन्छ, “खानेपानीको उचित व्यवस्था, चार लेनको सडक र काँक्रेविहारको मन्दिर निर्माण, नेपालगन्जदेखि सुर्खेतसम्म सडक विस्तार कार्य अघि बढाइसकेका छौँ ।”

यस क्षेत्रका विकासका प्रमुख कार्य काँग्रेस नेृतत्वको सरकारले नै गरेको र आगामी दिनमा पनि काँग्रेसले मात्रै पहल गर्न सक्छ भन्ने जनतामा विश्वास भएको जिकिर गर्दै उहाँ आफू जित्ने उहाँको दाबी छ । विसं २०७० को संविधानसभा निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसले जीतेको थियो । जनताकै साथमा रहेर विकासनिर्माणका काम गर्ने भएकाले यहाँका जनताले काँगे्रसलाई नै रुचाएको बताउँदै उहाँ भन्नुहुन्छ, “छोटा र गुणस्तरीय सडकमार्फत प्रदेश नं ६ लाई उत्तरी र दक्षिणी छिमेकी मुलुकका नाकासँग जोड्ने योजना अघि बढाएका छाँै ।”

यसअघि तीन निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यस पटक दुई क्षेत्र निर्धारण गरिएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवार चुनावी नारासहित गाउँगाउँमा पुगेर मतदाता आकर्षित गर्न व्यस्त छन् । यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज रावतले पनि प्रादेशिक राजधानीका लागि पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “वीरेन्द्रनगरदेखि बेनीघाटसम्मको सडक, जिल्लाको पश्चिम भेगका जनतालाई विद्युत् सुविधा, चौकुनेमा सिमेन्ट उद्योग स्थापना, सुर्खेत उपत्यकामा चक्रपथ निर्माण, व्यवस्थित सहरी बसोबास, काँक्रेविहारको प्रवद्र्धन हाम्रा प्रतिबद्धता हुन् ।”