सरकार नै विपक्षीमाथि आक्रमणमा उत्रियोः एमाले

0
107

मंसिर १६, काठमाडौं । २०७४ मंसिर १५ गते इलामको प्रतिनिधिसभा–१ मा निर्वाचन प्रचारमा रहिरहेकै अवस्थामा त्यस क्षेत्रका उम्मेदवार समेत रहनु भएका एमालेका वरिष्ठ नेताएवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लक्षित गरी वमप्रहार गरिएको छ । सूर्याेदय नगरपालिका–३, तीन खुट्टेमा उहाँमाथि गरिएको सांघातिक हमला प्रयासप्रति एमालेले खेद व्यक्त गरेको छ ।

एमालेले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘हाम्रो पार्टीबाट पटक–पटक शीर्ष नेता तथा उम्मेदवार लक्षित घटनामा गंभीर हुन र यथोचित्त सुरक्षाको प्रत्याभूतिको लागि सरकारको ध्यानकर्षण गरिएकै हो । तर सरकार र गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हाली रहेका स्वयम् प्रधानमन्त्रीको असंवेदनशीलताबाट हाम्रो पार्टी विष्मित छ । यसबाट नेपालको संविधानको अधिनमा रही संचालित कम्युनिष्ट पार्टी र सिंगो जीवन लोकतन्त्र र मानवअधिकारका लागि विताएका नेताको नेतृत्वमा बन्ने संभावित सरकार भन्दा ‘राणशासन राम्रो’ जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिडेका प्रधानमन्त्री र सरकारको विपक्षी उम्मेदवार तथा आफ्नै दलभित्रका फरक धारका नेतामाथि जारी हमलाको श्रृंखलाप्रति कतै संलग्नता त छैन भन्ने प्रश्न खडा भएको छ ।’

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ-‘उदयपुरको घटनामा गिरफ्तार आरोपीले ‘सरकारको निर्देशनमा आक्रमण गरेको’ भन्ने सञ्चार माध्यममा आएको भनाइले हाम्रो आशंकालाई अझ बल पुर्याएको छ । श्रृंखलाबद्ध यस्ता घटना, सरकारको उदाशिनता र प्रेसर कुकर बम सहित समातिएका भारतीय नागरिकबीच कुनै सम्बन्ध छ वा छैन स्पष्ट पार्न समेत हाम्रो पार्टी सम्बन्धित निकाय सँग माग गर्दछ ।

नेकपा (एमाले) प्रम देउवालाई जिम्मेवार बन्न आग्रह सहित सरकारको फितलो सुरक्षा प्रबन्धलाई सुदृढ गर्न फेरि जोडदार माग गर्दछ । असक्षम प्रमको रुपमा पटक पटक डामिनुभएका प्रम देउवालाई आफ्नो सक्षमता प्रमाणित गर्न चुनौति समेत दिन चाहन्छ । हाम्रा वरिष्ठ नेता एवम् सम्पूर्ण उम्मेदवार लक्षित आक्रमणको घोर निन्दा गर्दै सुरक्षा प्रत्याभूतिको माग गर्दछ।’