महाकवि देवकोटा अध्ययन मण्डलको भवन जीर्ण

0
320

मंसिर १६, वीरगञ्ज । संरक्षण र मर्मत संभारको अभावमा वीरगञ्ज महानगरपालिकामा रहेको ‘देवकोटा अध्ययन मण्डल’ जीर्ण बनेको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको सम्मानमा वीरगञ्ज-११ श्रीपुर मूर्लीमा ५८ वर्ष अघि निर्माण गरिएको ‘देवकोटा अध्ययन मण्डल’ संरक्षण र मर्मत सम्भारको अभावमा जीर्ण बनेको हो ।

झण्डै १ कठ्ठा जमिनमा फैलिएको अध्ययन मण्डलको भवन अहिले खण्डहर जस्तै बनेको छ । अध्ययन मण्डलको नवयुवक सघले २०१६ सालमा स्थापना गरेको थियो । अध्ययन मण्डलको भवनमा जथाभावी फोहोर गरिएको छ भने गारोमा घाँस समेत उमि्रन थालिसकेको छ । अध्ययन मण्डलमा साँझमा उछृङखल युवाहरु जाने चुरोट खाने पिसाव गर्ने गरेका छन् । नेपाल शिन क्योकोशिन कराँते संघ पर्साले पनि जिर्ण भवनमै तालिम संचालन गर्दै आएको छ ।

प्रवेशद्वारमा रहेको महाकवि देवकोटाको मुर्ति भने २०६४ सालको पहिलो मधेश आन्दोलनमा स्थानीय युवाले भत्काइदिएका थिए । सभा हल, वाचनालय र पुस्तकालय कक्षको झ्याल ढोका चोरी भएको स्थानीय बताउँछन् । वाचनालय कक्षको छत खसिसकेको छ भने पुस्तकालयका सबै पुस्तक हराईसकेका छन् ।

स्थानीय वृद्ध र साहित्य प्रेमीहरुका अनुसार २०१३ साल ताका महाकवि देवकोटा शिक्षा मन्त्री रहँदा वीरगञ्ज आएका थिए । सोही क्रममा उनले एउटा रबरको रुख मुनि बसेर कविता सुनाएका थिए । उनको कविताबाट प्रभावित भएका स्थानीयले देवकोटा अध्ययन मण्डल स्थापना गरेका हुन् । राणा परिवारले दान गरेको १ कठ्ठा
जमिनमा स्थानीय युवाहरुको संस्था नवयुवक संघले अध्ययन मण्डल निर्माण गरेका थिए ।