संघीयताको पूर्ण कार्यान्वयनका लागि काँग्रेसको विजयी आवश्यक–उपप्रम गच्छदार

0
268

मंसिर १६, इटहरी नेपाली काँग्रेसका नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतान्त्रिक शासन प्रणालीको स्थायित्व, संविधानको सफल कार्यान्वयन र नेपाली जनताले प्राप्त गर्न चाहेको स्थायी शासन प्रणालीलाई संस्थागत गर्न काँग्रेसले निर्वाचन जित्नैपर्ने परिस्थिति सिर्जना भएकामा जोड दिएका छन् ।

नेता गच्छदारले आज नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिका क्षेत्रको विभिन्न स्थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्दै न्यायिक समाज निर्माण र संघीयताको पूर्ण कार्यान्वयनका लागि काँग्रेसको विजयी आवश्यक रहेको बताए ।

यो देशका हरेक परिवर्तनको आन्दोलन र नेपाली जनताको सुन्दर भाग्य तथा भविष्य निर्माणमा नेपाली काँग्रेसले आन्दोलनको नेतृत्व गरेको इतिहासको स्मरण गराउनुहुँदै उपप्रधानमन्त्री गच्छदारले देशमा विध्वंशात्मक कार्य गर्दै आएका माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याएर देश निर्माणको बाटोमा लगाउने कार्य काँग्रेसले नै गरेको उल्लेख गरे ।

सबै नेपालीले मिलेर देशको सुन्दर भविष्य निर्माण गरी देशभित्रै रोजगार सिर्जनाका लागि काँग्रेसले अघि सारेको विकास योजनालाई मूर्तरुप दिन काँग्रेस नेतृत्वको सरकार बन्न जरुरी रहेकामा समेत उनले जोड दिए ।

उपप्रधानमन्त्री गच्छदारले उनले आम नेपाली नागरिकले चाहेको प्रजातान्त्रिक शासन व्यवस्थामार्फत आफ्नो स्वतन्त्र सार्वभौम अधिकारको ग्यारेण्टी गर्दै समावेशी चरित्रको राज्य प्रणाली कार्यान्वयन गराउन लोकतन्त्र मजबुत हुनु जरुरी छ भने । एकतन्त्रीय तानाशाही शासनको परिकल्पना गरेर नेपाली जनतालाई झुक्याउँदै आएको वामपन्थीको अस्वस्थ मिलनलाई विश्वास गर्नु भनेको आफ्नै घुँडामा बञ्चरो हान्नुसरह हुनेतर्फ उपप्रधानमन्त्री गच्छदारले सचेत गराए ।

सोही अवसरमा काँग्रेसका नेता एवं वाणिज्य मन्त्री मीन विश्वकर्माले पनि नेपालीको धर्म संस्कार संस्कृति जाति र परम्पराविपरीतको चरित्र बोकेका अनि नेपालको जय भन्ने शब्दलाई नै सुन्न नचाहने राजनीतिक पृष्ठभूमि भएका राजनीतिक चरित्रले कसरी नेपालको राष्ट्रियता जगेर्ना गर्लान् भनेर विश्वास गर्ने भन्ने प्रश्न गर्नुहुँदै समावेशी चरित्र नै नभएको वाम गठबन्धन कसरी नेपालको मौलिकतामा अटाउन सक्छन् भने ।

काँग्रेस नेता गोपाल विष्टको अध्यक्षतामा भएको चुनावीसभामा काँग्रेस प्रदेशसभा (ख) का उम्मेदवार कुमारजङ थापा, रोहित प्रसार्इंलगायतले बोलेका थिए ।