आवश्यक पर्दा गोली हान्ने अधिकार कहिले ? कहाँ कहाँ भयो विस्फोट ?

0
242

मंसिर १७,काठमाण्डौ – गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ ।

प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए ।आजको नयाँ पत्रिकामा खबर छ ।

विस्फोटका शृंखला :

१५ मंसिर : बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवानिवासको कम्पाउन्डमै बम विस्फोट।

१४ मंसिर : गुल्मी रेसुंगा–८ का वडासदस्य तारा श्रीस ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलो बारुदलगायत अवैध विस्फोटक पदार्थसहित पक्राउ ।

१३ मंसिर : उदयपुरको दनुवारबेसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।

१२ मंसिर : उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी विस्फोट ।

१२ मंसिर : झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा विस्फोट ।

१२ मंसिर : दाङको तुल्सीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । विस्फोटमा सात घाइते ।

२ मंसिर : रौतहटको चन्द्रपुर नगरपालिकामा वाम गठबन्धनको सभामा विस्फोट, आठ घाइते ।

२ मंसिर : तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।

२ मंसिर : भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । विस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।

१ मंसिर : नुवाकोटको काउलेथानामा बम विस्फोट हुँदा पाँच कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी क्षतिग्रस्त ।

३० कात्तिक : रोल्पाको घोडागाउँमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी सुतली बम प्रहार ।