मामा भान्जा बिच चुनावी भिडन्त

0
410

मंसिर १७,महेन्द्रनगर । नातामा मामा-भान्जा पर्छन्, कांग्रेस नेता रमेश लेखक र वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्ट । मामा कांग्रेसका हेभिवेट र भाञ्जा राजनीतिशास्त्रका विद्यावारिधि ।

मतदाताबीच मामाले जित्छन् कि भाञ्जाले भन्ने बहस चुलिएको छ, यतिबेला । मामाले आफ्नो जित सुनिश्चित भएको बताइरहेका छन् भने भान्जा उनलाई पछि पार्न प्रयासरत देखिन्छन् ।

यी दुवै बैतडी पुख्र्यौली थलो भएका नेता हुन् । कञ्चनपुर-३ मा बैतडी र दार्चुला सेन्टिमेन्टको मत बढी भएको मानिन्छ । करिब ६० प्रतिशत भोट सोही सेन्टिमेन्टको मानिन्छ । बाँकी ४० प्रतिशत अन्य सेन्टिमेन्टले ओगटेका छन् ।

कांग्रेस नेता लेखक यस क्षेत्रको विकास, निर्माण आफैंले गरेको दाबीका साथ मतदातासँग भेटघाटमा व्यस्त रहँदा डा. भट्ट भने कञ्चनपुरमा आएका हरेक विकास, निर्माणका योजना वामपन्थी सरकारका पालामा ल्याइएको बताउँदै त्यसको खण्डन गरिरहेका छन् । भन्छन्, ‘कांग्रेसले झुटो कुरा बोलेर जनतालाई अल्मल्याउने प्रयास गरिरहेको छ ।’

उनको भनाइमा कञ्चनपुरलाई अन्तर्राष्ट्रिय व्यापारको केन्द्र र नाका बनाउने कुरा ०६७ सालमा झलनाथ खनालको सरकारको पालामा आएको अवधारणा हो । ब्रम्हदेव हुँदै दार्चुलाको टिंकर नाका जोड्ने सडकको अवधारणा त्यही सरकारले ल्याएको डा. भट्ट बताउँछन् ।

‘महाकाली करिडोरबाट तिब्बतको ताक्लाकोट जोड्ने योजना खनाल नेतृत्वको सरकारले ल्याएको हो,’ उनी भन्छन्, ‘त्यतिबेला उक्त सडक निर्माणका लागि ८० करोड रुपैयाँ छुट्याइएको थियो ।’

उनको भनाइमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र लेखराज भट्ट आपूर्ति मन्त्री हुँदा दोधरा-चाँदनीको सुन्दरनगरमा सुख्खा बन्दरगाह निर्माणको योजना अगाडि सारिएको हो । र, त्यसका लागि ६ अर्बको बजेट नै छुट्याइएको थियो ।

२२ वर्षअघि भएको महाकाली सन्धिमा कञ्चनपुरमा सिँचाइका लागि नहर, ब्रम्हदेवबाट भासीसम्म फराकिलो सडक, दोधरा-चाँदनीको सिँचाइका लागि तीन सय ५० क्युसेकको नहर र पञ्चेश्वर बाँध निर्माण गर्ने उल्लेख थियो ।