पर्सा जिल्लामा निर्वाचनको तैयारी सक्यो

0
425

मंसिर १८,वीरगञ्ज– मंसिर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पर्सा जिल्लामा पूरा भएको निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकामा ३५१ मतदान केन्द्र र १६७ मतदानस्थल रहेको छ भने आउँदो २१ गते हुने निर्वाचनलाई आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी आ–आफ्नो मतदान केन्द्र तथा मतदानस्थलतर्फ जाने क्रम जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए ।

मतदान केन्द्रमा तीन हजार ५०० कर्मचारी खटाएको प्राप्त समाचारमा जनाइएको छ । सो निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले राससलाई बताए ।

एक लाख २४ हजार ४०९ महिला तथा १६ जना तेस्रो लिंगीसहित पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।