बाँकेकाे सुरक्षा व्यवस्था सुदृढ

0
276

मंसिर २०,नेपालगञ्ज-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाका मतदान केन्द्रमा आवश्यक सामग्रीसमेत लिएर मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कूल १३६ स्थानमा ३२७ मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार जिल्लाका मतदान केन्द्रबाट मतपत्र वितरणको कामसमेत शुरु भइसकेको छ ।
जिल्लामा मतदान प्रक्रिया शान्तिपूर्ण सम्पन्न गर्न आवश्यक सबै सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको तथा नेपाल—भारत सीमा नाकामा संयुक्त सुरक्षा गस्तीसमेत बढाइएको छ । प्रजिअ रमेशकुमार केसीका अनुसार शान्तिसुरक्षामा कुनै खलल नपरोस् भन्नाका लागि मंगलबार राति १२ बजेदेखि बिहीबारसम्म नेपाल—भारत सीमा नाका पूर्णरुपमा बन्द गरिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले मतदानका दिन स्वदेशी एवं विदेशी पर्यवेक्षक, पत्रकार, मानवअधिकारकर्मी र उम्मेदवारलाई आवश्यक सवारी अनुमतिपत्र उपलब्ध गराएको छ । मतदानका दिन जिल्लामा नागरिकका लागि सवारी साधन चलाउन पूर्णरुपमा बन्देज लगाइएको छ ।