नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि युवा नेता सगुन श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।

संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने तथा पार्टीभित्र युवाको सहभागिता बढाउने उद्देश्यसहित श्रेष्ठले क्षेत्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
कांग्रेस संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठले यसअघि नेपाल तरुण दल जिल्ला उपाध्यक्ष तथा जुगल गाउँपालिका सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। स्थानीय तहदेखि पार्टी संगठनमा काम गरेको अनुभवलाई क्षेत्रीय तहमा उपयोग गर्दै कार्यकर्ताबीच समन्वय, संगठन सुदृढीकरण र युवाको सहभागितालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

राजनीतिसँगै व्यवसायिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ हाल निर्माण व्यवसाय संघ, सिन्धुपाल्चोक जिल्ला अध्यक्षका रूपमा कार्यरत छन्। संगठनात्मक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठले पार्टीको क्षेत्रीय नेतृत्वमा रहेर युवालाई अवसर र जिम्मेवारीसँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
विशेष महाधिवेशनदेखि नै गगन थापाको नेतृत्वलाई समर्थन गर्दै आएका श्रेष्ठले आगामी दिनमा पनि थापा नेतृत्वप्रति आफ्नो प्रतिबद्धता कायम राख्दै युवालाई पार्टी संगठन र नेतृत्वमा समावेश गर्ने अभियानलाई निरन्तरता दिने बताएका छन्। पार्टीभित्र नयाँ पुस्ताको सहभागिता बढाउँदै संगठनलाई थप चलायमान बनाउने उनको दाबी छ।
१५औँ महाधिवेशनको तयारीसँगै सिन्धुपाल्चोक क्षेत्र नं. १ मा क्षेत्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसै क्रममा श्रेष्ठको उम्मेदवारीले युवा नेतृत्व, संगठन सुदृढीकरण र पुस्तान्तरणको विषयलाई क्षेत्रीय अधिवेशनको चर्चामा ल्याएको छ।











