पोखरामा प्रदेश बैठक र मुख्यमन्त्री बस्ने ठाउँ खोज्दै कास्किका सिडियो

0
430

मंसिर २६,पोखरा । ४ नम्बर प्रदेशमा स्याङ्जा बाहेक प्रदेश तथा प्रतिनिधि सभाको मतगणना सकिइसकेको छ । समानुपातितर्फको मतगणना पनि समापनउन्मूख छ । अन्तिम मतपरिणाम आएको मितिले ३० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आहृवान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सात प्रदेशमध्ये ४ नम्बरको राजधानी पोखरा लगभग निश्चित छ । तर, प्रदेशसभा भवन, मुख्यमन्त्री, मन्त्रीहरूको कार्यालय र निवास प्रदेशको राजधानी पोखरामा कहाँ राख्ने भन्ने कुराको टुंगो लगाउनै आत्थुआत्थु परिरहेको छ ।

सरकारले प्रदेश प्रमुखको खोजी तथा नियुक्ति अहिलेसम्म पनि गर्न नसक्दा अप्ठेरो परिरहेको हो । प्रदेश व्यवस्थापन कार्यविधि अनुसार प्रदेशसभाको अधिवेशन बस्ने र विधेयक प्रस्तुत गरिने अस्थायी सभा भवन खोजी गर्ने काम त भइरहेको, तर टुंगो लाग्न सकेको छैन ।

मन्त्रिपरिषद बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँ र प्रदेश सरकारको व्यवस्थापन गर्न बिहीबार मुख्य सचिव तोकेर पठाउँदैछ । मुख्य सचिव र प्रदेश प्रमुख तोकिएर आएपछि सबै स्थानको तय र व्यवस्थापन गर्न सहज हुने गरी तयारी भइरहेको हो ।

‘अहिलेसम्म कुनै अधिकार प्राप्त भएको छैन तर तत्काललाई प्रदेश बैठक कहाँ बस्ने, मन्त्रालयहरु कहाँकहाँ राख्ने र निवासको तय गर्नुपर्नेछ,’ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी भन्छन्, ‘भइरहेका संरचनालाई कम खर्चमा उपयोग गर्ने गरी निरीक्षण र अध्ययन काम भइरहेको छ ।’

४ नम्बर प्रदेशमा प्रत्यक्षमा प्रदेशसभाका ३६ र प्रतिनिधिसभाका १८ सिट छन् । समानुपातिकमा २४ सभासद प्रदेश नम्बर ४ मा चुनिँदै छन् । ६० सांसद र पत्रकार, पर्यवेक्षक, विशिष्ट व्यक्ति गरी झन्डै डेढ सय जनाभन्दा बढी अट्ने प्रदेश सभा स्थल आवश्यक पर्छ ।