६ दल मात्र राष्ट्रिय पार्टीको हैसियतमा पुगे ।

0
423

२९ मंसिर, काठमाडौं ।  यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् । यसरी राष्ट्रिय दलको मान्यता पाउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी हुने भएका हुन् ।राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने भएकाले यी ६ दलले मात्र कानुनी प्रावधान पूरा गर्ने देखिएको छ ।

दुई राप्रपामध्ये हलो चुनाव चिह्न रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षमा एउटा पनि सिट जित्न नसकेकाले समानुपातिकमा तीन प्रतिशत मत ल्याएपनि राष्ट्रिय पार्टी बन्ने सम्भावना सकिएको छ ।लामो समयदेखि राजनीति गरिरहेका पुराना पार्टी मानिने नेमकिपा, राष्ट्रिय जनमोर्चा एवं पोहोरमात्र गठित नयाँ शक्ति पार्टीले प्रत्यक्षमा एक/एक सिट जितेको भएपनि तीन प्रतिशत मत कटाउने सम्भावना कम देखिएको छ । त्यसैले ती दलले प्रत्यक्षमा जितेर पनि राष्ट्रिय दल बन्ने सम्भावना कम रहेको छ ।

सँगसँगै यस निर्वाचनले ठूला दलहरुको हैसियतमा पनि फेरबदल गरिदिएको छ ।प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको र पटक–पटक पहिलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस इतिहासमै कमजोर देखिँदै तेस्रो दलको हैसियतमा खुम्चिन पुगेको छ । प्रत्यक्षमा त उ तेस्रो बनेकै छ । अबको संसदमा हालको दोस्रो दल नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दल हुनेछ । इतिहासमै एमाले पहिलोपटक यो हैसियतमा देखिन लागेको हो ।