चिनियाँ आर्थिक विकासको चर्चा र नेपाल :एकराज पाठक

0
319

पुस १,काठमाण्डौं – अबको चिनियाँ विकास कस्तो होला ? चीनको आर्थिक विकासले उसलाई विश्वको पहिलो अर्थतन्त्रका रुपमा कहिले र कसरी पुर्याउला ? चीनले पूर्वाधार र प्रविधिमा गरेको प्रगतिले विश्वलाई कस्तो फाइदा पुग्ला तथा उसको महत्वाकांक्षी आयोजना बिआरआइको सञ्चालन कसरी होला भन्ने विषयमा यतिखेर विश्वमा नै बहस जारी छ ।

विश्वको करिब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ योजनाका कारण पनि विश्वमा चीनको चासो र चर्चा बढेको हो । यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्कोले गर्दा चीनको चर्चाले लगभग विश्वकै सञ्चारमा स्थान पाउने गरेको छ ।

चीनको चर्चा उसको आर्थिक विकास र समृद्धिका अतिरिक्त गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि झन चुलिन पुग्यो । राष्ट्रपति सिले अघि सार्नुभएको बिआरआइको विकासमा रफ्तार, पूर्वाधारको विकास र लगानीमा ल्याइएका नयाँ कार्यक्रम, अर्काे पाँच वर्षमा गरिने आर्थिक विकास र समग्रमा चिनियाँ माटोमा विकसित हुने समाजवादी व्यवस्थाको व्याख्या र संविधानमै सि चिनफिङवादको व्यवस्था तथा उहाँ आगामी पाँच वर्षका लागि पुन राष्ट्रपतिमा निर्वाचित हुनुले चीनको चर्चा भएको हो ।

वास्तवमा उहाँको यो पाँचवर्षे कार्यकाल चीनको आर्थिक र प्राविधि विकासमा सफल मानिएको छ । उहाँ नेतृत्वमा आएपछि चिनियाँ अर्थतन्त्रको उच्च गतिले बृद्धि भइरहेको र विश्वका प्रभावशाली मुलुकको अग्रस्थानमा चीन रहन सफल भएको प्रतिक्रिया दिनुहुन्छ चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङ ।