तत्काल पार्टी एकता आवश्यक छ: माधव नेपाल

0
390

पुस १,काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं २ बाट नवनिर्वाचित सांसद माधवकुमार नेपालले माओवादी केन्द्र र मालेबीचको पार्टी एकतामा विलम्ब गर्नु नहुने बताएका छन् ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित काठमाडौं ५ बाट प्रदेश तथा प्रतिनिधसभा सदस्यमा निर्वाचित वाम गठबन्धनका उम्मेदवारलाई बधाई तथा चियापान समारोहमा बोल्दै उनले पार्टी एकतामा जोड दिए। कम्युनिस्ट आन्दोलन र वामपन्थी शक्तिलाई निर्णायक रूपमा उभ्याउनका लागि तत्काल पार्टी एकता आवश्यक रहेको नेता नेपालको भनाइ थियो।

सरकार गठन र एकतासँगै जनतालाई दिएका वाचा, विकास र समृद्धिको सपना पूरा गर्ने अभिभारा आएको उनले बताए। वाम गठबन्धनको एकतालाई संकीर्ण सोचले नहेर्न कांग्रेसलाई आग्रह गर्दै उनले भने, अब कांग्रेस र अन्य दललाई समेत साथमा लिएर नयाँ युगको नेपाल बनाउनुछ। यो अभियानमा सरिक हुन सबैलाई म आग्रह गर्छु ।