विश्वभर करिब २३ करोड २० लाख आप्रवासी कामदार ।

0
362

३ पौष , काठमान्डौँ। अन्तराष्ट्रिय अाप्रवासन श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धी पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन लागिएको हो ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम् मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ । नेपालमा पनि सोमबार ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।

हाल विश्वभर करिब २३ करोड २० लाख आप्रवासी कामदारका रुपमा रहेको र तीमध्ये एक चौथाइ मानिस एशिया तथा प्रशान्त क्षेत्रमा मात्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांक छ ।

नेपालबाट बर्षेनी चार लाखको हाराहारीमा वैदेशिक रोजगारीमा युवा जाने गरेका छन् । विदेशमा करिब ३० लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिए पनि आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन ।

आप्रवासी कामदारको हकहित, अधिकार संरक्षणमा सरोकारवाला निकायलाई झक्झकाउने र कामदारको हितमा निर्णय गराउन दबाब दिन सकेमा मात्रै यो दिवस मनाउनुको सार्थकता हुनेछ । वैदेशिक रोजागरीमा पठाएका कामदारले पठाएको विप्रेषण नै नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको छ । वार्षिक सात खर्बको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ ।

नेपालको सन्दर्भमा सरकारले विसंं २०७२ असार २१ गतेबाट खाडीका कतार, बहराइन, साउदीअरब, दुबई, कुवेत, ओमान तथा मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागू गर्ने निर्णय पूर्णरुपमा कार्यान्वयन गर्न सकिएमा मात्रै पनि बर्षेनी पाँच लाख युवाले राहत महसुश गर्नेछन् ।

रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको बढ्दो मृत्युदर, दुर्घटना पनि चिन्ताको विषय हो । विदेश जानुअघि राम्रो अभिमुखीकरण र तालिम प्रदान गर्न दिन नसकेकै कारण यो सङ्ख्या बढ्दै गएको छ । यस्तै विदेशका जेलमा रहेका नेपाली कामदार र त्यहाँको अस्पतालमा ‘कोमा’मा उपाचाररत नेपाली कामदारको विषयमा समेत राज्यले स्पष्ट मापदण्ड बनाउन आवश्यक छ ।

विदेश जानुअघि उनीहरुलाई तालिम दिएर दक्ष कामदारका रुपमा पठाउन सके उनीहरुले कमाउने रकम धेरै हुनेथियो । तर बिना तालिम कामदार पठाएकै कारण नेपाली कामदारले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् ।

विदेशमा रहेका नेपाली आप्रवासी कामदारको अधिकारको चर्चा गरिरहँदा नेपालमा रहेका भारत, बंगलादेशलगायत विभिन्न मुलुकका पाँच लाखभन्दा बढी आप्रवासी कामदारको अधिकारको विषय पनि यस सन्दर्भमा चर्चा गर्न आवश्यक छ ।

नेपाली कामदारको प्रमुख गन्तव्य खाडी र मलेसिया रहँदै आएकामा त्यसलाई न्यूनीकरण गर्दै विकसित युरोपेली राष्ट्रमा श्रम गन्तव्यको खोजी गर्ने, विद्यमान प्रमुख श्रम गन्तव्य मुलुकसँग तत्कालै श्रम सम्झौता गर्ने, वैदेशिक रोजगार ऐनलाई छिटो परिमार्जन गर्ने, म्यानपावरको नियमनका कडाइ गर्नेजस्ता कार्यलाई कार्यान्वयन गर्न सके मात्रै आप्रवासी कामदार दिवस मनाउनुको सार्थकता हुनेछ ।