नेपाली कामदार विकसित देशमा पठाउन अध्ययन अघि बढाइयो : मन्त्री चौधरी

0
356

पुस ३,काठमाडौं – श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले नेपालको अहिलेको मुख्य श्रम गन्तव्यसँगै विकसित देशमा पनि कामदार पठाउन मन्त्रालयले अध्ययन अघि बढाएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासी  कामदार दिवसको अवसरमा श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको प्रभातफेरी पछि बोल्दै उहाँले नेपाली कामदार विकसित देशमा पठाउन अध्ययन अघि बढएकाे बताउनुभएकाे हाे ।

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले विदेशिएका नेपाली आप्रवासी कामदारको अधिकारप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । नेपाली कामदारको प्रमुख गन्तव्य देशसँग श्रम सम्झौताका लागि सरकारले विशेष पहल गरिरहेको र केहीसमय अघि मात्रै जोर्डनसँग श्रम सम्झौता गर्न सफल भएको बताउनुभयो ।

यस्तै, राष्ट्रिय मावअधिकार आयोगले वैदेशिक रोजगार पीडितको उजुरी लिन सोमबारबाट सुरुवात गरेको आयोगका सदस्य सुदिप पाठकले जानकारी दिनुभयो ।

‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी सोमबार देशभर अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइदैछ ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाउने गरिन्छ ।