वामपन्थी सरकारलाई शुभकामना दिनचिनियाँ राष्ट्रपति नेपाल आउने ।

0
494

४ पौष , काठमान्डौँ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालमा वामपन्थी सरकार बनेलगत्तै राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई प्रोत्साहित गर्ने बाटो खुलेपछि चीनले आफ्ना राष्ट्रपतिको भ्रमण गराउन गृहकार्य थालेको हो ।यसअघि केपी ओली प्रधानमन्त्री हुँदा पनि राष्ट्रपति सीको भ्रमणको तयारी भएको थियो । तर, त्यतिबेला सत्ता परिवर्तनले सी जिनपिङलाई नेपाल भ्रमण गराउने ओलीको प्रयास सफल भएको थिएन् । राष्ट्रपति सीले दक्षिण एसियाका अधिकांश देश (श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारत)को भ्रमण गरिसकेका बेला नजिकको छिमेकी देश नेपाल आएका छैनन् ।अब वाम गठबन्धनबाट सरकारको नेतृत्व गर्ने भावी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमण गराएर आफ्नो प्रयास सफल पार्ने भएका हुन् । ओलीले भ्रमणबारे चिनियाँ राजदूतसँग पनि चासो राखेको र छिट्टै भ्रमण हुने जानकारी गराएको ओलीको निजी सचिवालयले जनाएको छ ।

चिनियाँ दूतवासका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार गठनलगत्तै सीले नेपाल भ्रमण गर्ने सम्भावना उच्च छ । भ्रमणबारे दुई देशका उच्च अधिकारी र राजनीतिक तहमा समेत अनौपचारिक छलफल भइरहेको छ ।चीनका लागि पूर्वनेपाली राजदूत डा. महेश मास्केले नयाँ सरकार बनेलगत्तै सीको भ्रमण हुनसक्ने बताए । चीनको बेइजिङ इन्टरनेशनल स्टडी युनिभर्सिटीको इन्डियन सेन्टरका कार्यकारी निर्देशक सु लियाङले पनि राष्ट्रपति सीको भ्रमणको सम्भावना बढेको बताए । ‘हाम्रा राष्ट्रपतिको भ्रमण नेपालको नयाँ बन्ने सरकारमा निर्भर रहन्छ, मलाई लाग्छ छिट्टै भ्रमण हुन्छ,’ उनले भने ।

चीनको टिसिंघुवा विश्वविद्यालयका प्रोफेसर ली सीगुवाङले राष्ट्रपति सीको नेपालको भ्रमणका लागि अहिले उपयुक्त समय आएको टिप्पणी गरे । ‘सीको भ्रमणमा आर्थिक साझेदारीसम्बन्धी महत्वपूर्ण सम्झौताहरु हुनसक्छ । नेपाल सरकारले गृहकार्य गर्नु जरुरी छ,’ उनले भने ।