१२ पौष , एजेन्सी । चीन, पाकिस्तान र अफगानिस्तानले तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील गरेका छन् । चीनको पहलमा बेइजिङमा भएका त्रिदेशीय विदेश मन्त्रीस्तरीय बैठकले तालिवानी लडाकुलाई शान्तिवार्ता गर्न अपील गर्ने निर्णय गरेको हो ।अफगानिस्तानले पाकिस्तानमाथि तालिवान विद्रोहीलाई सहयोग गरेको आरोप लगाइरहेकै बेला भएको यो बैठकलाई पाकिस्तान र अफगानिस्तानबीच बिग्रिएको सम्बन्ध सुधारको रुपमा पनि हेरिएको छ । अफगानिस्तानमा पछिल्ला दिनमा तालिवानी आक्रमण हुन थालेपछि अकस्मात बसेको बैठकले शान्तिवार्ताको आह्वान गरेको हो ।
बैठकमा चीनले क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तानको भूमीमा बनाइने आर्थिक करिडोरको योजनालाई अफगानिस्तानमा विस्तार गर्ने प्रस्ताव गरेको छ । त्रिपक्षीय बैठकलाई सम्बोधन गर्ने क्रममा चीनका बिदेशमन्त्री वाङ यीले उक्त करिडोर विकासको संबाहक बन्नेमा आफू बिश्वस्त रहेको बताए । पाकिस्तानसँग जोडिएको आर्थिक करिडोर क्षेत्रमा बेइजिङले करिब ५७ अर्व डलर बराबरको लगानी गर्दैछ । जसमा चीनको पश्चिमी शहरदेखि पाकिस्तानको बन्दरगाहसम्म रेलवे लाइन र पाइपलाइन निर्माण हुनेछ ।