आक्रोशित युवाहरुद्वारा बिधालयमा तालाबन्दी

0
421

माघ ११, काठमाण्डौं – स्थानीय युवाहरुले बिहीबार पर्साको पोखरीया नगरपालिका ९ चौकिया बैरियाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रधानाध्यापकको कोठामा तालाबन्दी गरेका छन् ।

पठन पाठन नियमित नभएको, शिक्षक नियमित नआउने र सरस्वती पूजामासमेत कुनै कार्यक्रम नगरेको भन्दै स्थानीय युवाहरुले प्रधानाध्यापक रामपूजन कुर्मीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

स्थानीय युवा धर्मेन्द्र पटेलले विद्यालयमा शिक्षक नियमित नआउने र सरस्वती पूजासमेत नगरेकोले तालाबन्दी गरेको बताए । ‘विद्यालयमा प्रअ एवं शिक्षकहरुको लापरबाही बढ्दै गएको छ । नियमित विद्यालय नै आउँदैनन्’ उनले भने ‘विद्याकी देवी सरस्वतीको पूजामा समेत कुनै कार्यक्रम भएन ।’

प्रधानाध्यापक रामपूजन प्रसाद कुर्मीले भने विद्यार्थीहरुले चासो नदिएको र आफू पनि व्यस्त भएकोले सरस्वती पूजामा कार्यक्रम नभएको बताए । ‘म प्रधानाध्यापकहरुको भेलामा सहभागी हुन चितवन गएको थिएँ, विद्यार्थीहरुले पनि चासो दिएनन्’ उनले भने ‘त्यसैले सरस्वती पूजामा कार्यक्रम हुन सकेन ।’

उनले आफूहरु विद्यार्थीहरुलाई पढाउन आएको भए पनि पढाउने वातावरण नबनेको र छलफल भइरहेको बताए । १ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयमा प्रअ, समेत गरी ५ जना शिक्षक कार्यरत छन् ।