पुनर्वास (कञ्चनपुर), १८ चैत । कञ्चनपुरको दक्षिणी भेगमा रहेको पुनर्वासस्थित परासन स्वास्थ्य चौकीमा सरकारी दरबन्दीमा कार्यरत अनमी सहरको ठूलो अस्पतालमा काज सरुवा भई स्वास्थ्य संस्था दरबन्दीविहीन हुँदा ग्रामीण महिलाको स्वास्थ्य सेवा नराम्रोसँग प्रभावित भएको छ ।
सुदूरपश्चिमको कुनामा रहेको पुनर्वासको परासन स्वास्थ्य चौकीमा दरबन्दीमा रहेकी अनमी प्रेमलता चन्द गएको चैत १ गतेदेखि जिल्ला सदरमुकाम महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा काज मिलाई सरुवा गएपछि ग्रामीण स्वास्थ्य संस्थामा अनमी नहुँदा प्रसूति केन्द्रबाट दिइने २४ घन्टे सेवाबाट समेत ग्रामीण महिला बञ्चित बन्न पुगेका छन् ।
स्वास्थ्य संस्थाबाट अनमी काज सरुवा भई गएपछि मातृ तथा नवजात शिशुको स्याहार, गर्भवती जाँच, सुत्केरी महिलाको जाँच, गाउँघर क्लिनिक, परिवार नियोजन तथा परामर्शलगायतका स्वास्थ्य संस्थाबाट दिइने सेवाहरू नराम्ररी प्रभावित भएका छन् ।
नेपाल सरकारले ग्रामीण जनताको स्वास्थ्य सेवामा गुणस्तर वृद्धिको कुरा उठाइरहेका बेला स्वास्थ्यकर्मी ग्रामीण भेगमा जान नमान्ने भएकाले सरकारी सेवा गुणस्तरीय हुन सकेको छैन ।
स्वास्थ्य संस्थामा सरकारी दरबन्दीमा कार्यरत अनमीको काज सरुवा भई अर्को पदपूर्ति नभएपछि सरकारी स्वास्थ्य संस्थाबाट दिइने महत्वपूर्ण सेवाबाट जनता बञ्चित हुनुपरेको परासन स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सिनियर अहेब जयबन्धु अर्यालले बताउनुभयो ।
ग्रामीण महिलाको स्वास्थ्यमा सुधार ल्याई गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको ज्यान जोगाउन गाउँस्तरमा सञ्चालित प्रसूति केन्द्र सञ्चालनमा समेत कठिनाइ आएको स्वास्थ्य गुणस्तर सुधार समितिका सदस्य गणेशदत्त न्यौपाने बताउनुहुन्छ ।
सरकारी दरबन्दीको अनमी काज सरुवा भई सदरमुकामको ठूलो अस्पतालमा जाँदासमेत सम्बन्धित निकायले अर्को अनमीको व्यवस्था मिलाउन बेवास्था गरेपछि स्थानीय निकायको न्यून आर्थिक सहायतामा स्वास्थ्यकर्मी राखी प्रसूति केन्द्र सञ्चालन गर्नुपरेको उहाँको भनाइ रहेको छ ।
दुर्गम भेगमा रहेको त्यो स्वास्थ्य चौकीमा भएको समस्याका बारेमा आफूलाई थाहा नभएको र जनशक्तिको अभावमा परेको असर समाधानका लागि जनस्वास्थ्य कार्यालय कञ्चनपुरसँग बुझ्ने दिपायलस्थित सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक परशुराम श्रेष्ठले बताउनुभयो । रासस