शव उत्खनन गरी आरोपीलाई मुद्दा  ।

0
316

२३ माघ , ओखलढुंगा । तीन वर्षअघि भएको हत्यापछि सतगत गरिएको शव उत्खनन गरी जिल्ला प्रहरी कार्यालयले आरोपीलाई मुद्दा चलाएको छ । चिशंखुगढी गाउँपालिका ८, माम्खामा भएको घटनाको मुद्दा छिमेकीको उजुरीका आधारमा प्रहरीले तीन वर्षपछि ब्युँताएको हो । कान्तिपुरमा समाचार छ ।

गाउँकै एउटा विवाह समारोहमा गुन्द्रीको विषयमा झगडा भएको थियो । ०७१ वैशाख १० गते भएको झगडामा स्थानीय खिरमान भनेर चिनिने सुरधन राईको मृत्यु भएको थियो । अघिल्लो दिन कुटपिट भएका उनको अर्को दिन ११ गते मृत्यु भएको थियो । त्यतिखेर उनका आफन्तकै सहमतिमा गाउँलेले शव परम्पराबमोजिम गाडेर सदगत गरेका थिए । तर पछि छिमेकीहरूले हुलाकबाट उजुरी पठाए । तर प्रहरीले उजुरी दर्ता गरेनन् ।

राष्ट्रिय मानव अधिकार आयोग र प्रहरी प्रधान कार्यालयले उजुरी दर्ता गर्न दबाब दिएपछि प्रहरीले ०७३ जेठ १० गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । सोहीमुद्दा प्रक्रियामा थप प्रमाण जुटाउन जिल्ला सरकारी वकिल कार्यालयले शव उत्खनन गरेर अनुसन्धान गर्न निर्देशन दिएपछि विशेषज्ञसहितको टोलीले उत्खनन गरेको हो ।

शव उत्खननमा फरेन्सिक मेडिसिन विभागका डाक्टर रिजन श्रेष्ठ, मणी महर्जन, कश्चेव श्रेष्ठ र प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनासहितको टोलीले ०७४ कात्तिक १६ गते शव उत्खनन गरेको थियो । डीएनए परीक्षणबाट मृतककै शव भएको प्रमाणित भएको प्रनाउ तिमिल्सिनाले बताए ।

अभियुक्तमध्येका एक गौधन राईलाई ०७४ मंसिर ८ गते पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको गरिएको छ । थप एक जना आरोपित फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । तीन वर्षअघिको शव उत्खनन गरी मुद्दा चलाइएको जिल्लाकै पहिलो घटना भएको प्रहरी निरीक्षक टीका कार्कीले बताए ।