पर्साका जनप्रतिनिधिहरु सरसफाईमा सक्रिय ।

0
436

माघ २५,काठमाण्डौं – फागुन मसान्त भित्र पर्सा जिल्लालाई खुल्ला दिसामुक्त बनाउने प्रतिबद्धता गरेका जनप्रतिनीधिहरुले सरसफाइ अभियानमा सक्रियता देखाउन थालेका छन् ।

‘पर्सा जिल्लाको नारा खुल्ला दिसामुक्त गरौं गाउँ शहर सारा’ भन्ने नारासहित थालिएको अभियान सार्थक हुने देखिएको छ ।

पर्सा जिल्लालाई सन २०१७ भित्रमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको भएपनि त्यो पूरा हुन नसकेपछि नवनिर्वाचित जनप्रतिनीधिहरुले फागुन मसान्त भित्र जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

१४ वटा स्थानीय तह मध्ये २ वटा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्, बाँकी तह पनि अन्तिम चरणमा रहेको जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साले जनाएको छ ।

३१ डिसेम्बर अर्थात पुस १६ गते नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरेपछि सरसफाइ अभियानले गति लिएको यूएन हृयाबिट्याटका पर्सा संयोजक सरोज चौरासीयाले बताए ।

उनका अनुसार पर्साको जगरनाथपुर, पटेर्वासुगौली, सखुवा प्रसौनी र पकाहामैनपुर गाउँपालिकामा सरसफाई अभियानले गति लिएको छ । ‘कुनै गाउँपालिकाको प्रमुख, कुनै गाउँपालिकाको उप प्रमुख, कतै त प्रमुख र उपप्रमुख दुवै सरसफाई अभियानमा गम्भीर भएर लागेका छन् ।’ उनले भने ‘कतै भने राजनीतिक खिचातानीका कारण समस्या छ ।’

पर्सा जिल्लामा २०६९ सालमा सरसफाई अभियान सुरु गर्दा जम्मा ३२ प्रतिशत घरधुरीमा मात्रै शौचालय थियो ।

सरसफाइ अभियान मार्फत सचेतनामूलक कार्यक्रम हुन थालेपछि २०७० सालमा ३८ प्रतिशत, ०७१ सालमा ५२ प्रतिशत, ०७२ सालमा ६१ प्रतिशत, ०७३ सालमा ८१ प्रतिशत र ०७४ मा आएर ८४ प्रतिशतमा शौचालय बनाउन र प्रयोग गर्ने बानी बसाउन सफल भएको दावी जिल्लास्तरी खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साको छ ।