साउन १० – ट्वेन्टी–ट्वेन्टी विश्वकप त्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्डले आयरल्याण्डलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयरल्याण्डले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य नेदरल्याण्डले १८ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेदरल्याण्डका बेन कुपरले ४३, पिटर ब्रोनले नटआउट ३६, माइकल स्वर्टले २१ तथा म्याक्स ओ’डाउडले १७ रनको योगदान दिए । आयरल्याण्डका केभिन ओ’ब्रायनले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले खेल सकिन एक बल बाँकी हुँदा सबै विकेट गुमाएर १ सय २८ रन बनायो । आयरल्याण्डका केभिन ओ’ब्रायनले ३३, एन्डी बालब्रिनीले ३१, ग्रे विल्सनले २० तथा पल स्टर्लिङले १८ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन । नेदरल्याण्डका मुदस्सर भुखारीले चार तथा टिम भान डेर गोग्टन र पलर भान मिकेरेनले दुई दुई विकेट लिए । स्कटल्याण्ड शनिबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । नेदरल्याड र स्कटल्याण्डबीचको फाइनल खेल आइतबार बेलुकी सात बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि दिउँसो पौने तीन बजे हङकङ र आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।