शिवमाया तुम्बाहम्फे बनिन् बाम गठबन्धनको तर्फबाट उपसभामुखको उमेदवार ।

0
580

चैत १ काठमाडौं । यदि ०७३ सालमा केपी ओलीको सरकार नढलेको भए डा शिवमाया तुम्बाहम्फे अहिले इजरायलमा नेपाली राजदूतका रुपमा कुटनीतिक भूमिकामा भेटिने थिइन् ।

तत्कालीन सरकारले उनलाई इजरायलको लागि राजदूत सिफारिस गरेको थियो । तर, संसदीय सुनुवाई हुन नपाउँदै प्रचण्ड नेतृत्वमा कांग्रेस माओवादी सरकार बनेपछि उनीसहित सबैको नाम फिर्ता भयो ।

ओलीको सिफारिसमा राजदूत हुन नपाएकी तुम्बाहाम्फेले ओलीकै एकल निर्णयबाट प्रतिनिधिसभाको उपसभामुख बन्ने अवसर पाउँदैछिन् । उपसभामुखमा कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी पारेको छ । तर, वाम गठबन्धन र मधेसवादी दलको समेत समर्थन पाउने भएकाले शिवमायाको जित निश्चित छ ।

शिवमायाको नालीबेली यस्तो छ

०३५र३६ को विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेकपा मालेआवद्ध अनेरास्ववियुबाट राजनीति थालेकी शिवमाया त्यो बेलाकी चर्चित क्रान्तिकारी हुन् । उनी विभिन्न कमिटी हुँदै रामनाथ ढकाल अध्यक्ष भएको बेला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइन् ।

योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि विद्यार्थी राजनीतिबाट विदा लिएकी तुम्बाहम्फे त्यसपछि बिराटनगर फर्किएर गैरसरकारी संस्थामार्फत सामाजिक काममा लागिन् । उनको जन्मथलो तेह्रथुम र अध्ययन तथा राजनीति झापाबाट शुरु भए पनि कर्मथलो मोरङ बन्यो ।

मोरङमा उनले राजनीति र समाजसेवा सँगै अघि बढाउँदा उनका श्रीमान घनेन्द्र जिमी नेकपा एमालेबाट निर्वाचित उर्लाबारी गाविसका अध्यक्ष थिए । हाल जिमीको निधन भइसकेको छ । शिवमाया यसबीचमा अध्ययनमा लागेकाले पार्टीको कार्यकारी भूमिकामा थिइनन् ।