ब्यबसायीले दिए सरकारलाई दवाव,भन्सार मूल्यांकनमा असहमती राखे पछि राजश्व संकलनमा गिरावट ।

0
527

चैत ४ काठमाडौं । आयातकर्ताहरुले सुचना मूल्यसूचीका आधारमा भन्सार नउठाउन भन्दै सरकारमाथि दबाव सिर्जना गरेका छन् । सरकारले भन्सारको अभिलेख मूल्यका आधारमा भन्सार मूल्यांकनमा कडाइ गरेपछि ब्यापारीहरुले सरकारलाई ‘असहयोग’ गर्न थालेका हुन् ।

अन्डरबिलिङ (न्यून बिजकीकरण) रोक्नका लागि सरकारले भन्सार मूल्यांकनमा गरेको कडाइविरुद्ध अयातकर्ताहरु राजनीतिक लबिङमा लागेका छन् ।

उनीहरुले आयातको क्रम घटाएर सरकारमाथि दबाव पनि सिर्जना गर्न खोजिरहेको भन्सार विभागका एक उच्च अधिकारी बताए । त्यसैका कारण भन्सार राजस्वको संकलन पनि घट्न थालेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएपछि केही दिन भन्सारको असुली बढे पनि पछिल्ला केही दिनमा भन्सार राजस्व संकलन सन्तोषजनक नभएको भन्सारका अधिकारीहरु बताउँछन् ।

अर्थमन्त्रीमा नियुक्त भएलगत्तै डा खतिवडाले न्यून बिजकीकरणलाई रोक्ने गरी सूचना मूल्यसूचीलाई आधार मानेर भन्सार संकलन गर्न निर्देशन दिएका थिए । उनले उपभोक्ताले तिर्ने मूल्यलाई विचार गरेर भन्सार मूल्यांकनलाई वस्तुपरक बनाउन निर्देशन दिएका थिए ।

पदभार ग्रहण गर्दै खतिवडाले भनेका थिए, ‘राजस्व उठाउने कुरामा हामीसँग धेरै अवसरहरू छन् । हामी करका दर हैन, दायरा बढाउने कुरा गर्छौं । मूल्याङ्कन लगायतका विषयमा हामी अपडेट गर्छौं । भन्सारमा कम मूल्याङ्कन गरेर छाडिदिने र दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको चाहिँ अन्त्य हुनुपर्छ । हामी मुहान मै यसलाई सम्बोधन गर्छौं, हामी मुहान सफा गरौं भनेर लागेका हौं ।’

यसलगत्तै भन्सार विभागले भन्सार प्रमुखहरुलाई कम्तिमा सूचना मूल्यसूची र उपभोक्ता मूल्यलाई आधार बनाएर भन्सार ‘डिक्लियर’ गर्न निर्देशन दिएको थियो । यो निर्देशनपछि भन्सार प्र्रमुखहरुले अस्वभाविक मूल्यका समानहरुको भन्सार राजस्वको मूल्यांकन बजार मूल्यका आधारमा गर्न सुरु गरेका छन् । वस्तुको भन्सार डिक्लियर गर्ने सबै अधिकार भन्सार प्रमुखलाई नै हुन्छ ।

यसबाट डराएका आयातकर्ताहरु अहिलेको अवस्थामा ठूलो परिमाणमा वस्तु आयात गर्दा समस्या पर्ने बताइरहेका छन् । उनीहरुले भन्सार मूल्यांकन गर्दा बजार मूल्यलाई आधार मान्न नहुने भन्दै अर्थ मन्त्रालयमाथि दबाव सिर्जना गरिरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

अहिले भन्सारमा आइपुगेका वस्तुको मूल्य कति हो भन्ने यथार्थ जानकारी ब्यापारीसँग मात्रै हुन्छ । तर उनीहरुले किनेको भन्दा कम मूल्य देखाएर भन्सार छुटाउने समस्या व्याप्त छ ।

भन्सार अधिकारीहरुले अयातकर्ताले पेश गरेका कागजात र प्रमाणहरुका आधारमा भन्सार रकम निर्धारण गर्ने प्रचलन छ ।

तर अहिले व्यापारीले अन्डरबिलिङ गरेका सामानमा अपेक्षितभन्दा धेरै भन्सार तोक्न थालिएपछि विवाद चर्किएको हो । अहिले वस्तुको मूल्य ९बिलमा उल्लेखित० बारे भन्सार अधिकारी र व्यापारीबीच मतभेद र विवाद चर्को छ ।

भन्सारमा यस्ता विवाद नहोस् भनेरै विभागले सूचना मूल्य पुस्तिका तयार गरेको हुन्छ । अभिलेख मूल्य पनि भनिने यलाई ६–६ महिनामा अपडेट पनि गरिन्छ ।

यसमा आयात हुने वस्तुहरुको सूचना मूल्यहरु राखिएका हुन्छन् । तर, यसमा उल्लेख हुने मूल्यलाई व्यापारीहरुले भने स्वतःस्फूर्त रुपमा स्वीकार गरेका छैनन् ।

सूचना पुस्तकमा कुन वस्तु कति मूल्यको हुन सक्छ भन्ने आँकलन गरिएको हुन्छ । अर्थमन्त्री डा। खतिवडाले भन्सारले जुनसुकै वस्तु सूचना मूल्यभन्दा कममा नछोड्न निर्देशन दिएका छन् ।