कार्यदलका अधिकांश सदस्य मन्त्री भए पछि पार्टी एकिकरणको काम अलपत्र ।

0
262

चैत ४ काठमाडौं । एकीकृत कम्युनिस्ट पार्टीको अन्तरिम बिधान मस्यौदा कार्यदलका संयोजकसहित अधिकांश एमाले र माओवादीका नेताहरु मन्त्री भएपछि बैठक बस्न समेत छाडेको छ । कार्यदलको बैठक बस्न नसकेका कारण फागुन २५ भित्र तयार पार्ने भनिएको अन्तरिम बिधान र जनसंगठनहरुको एकीकरण सम्बन्धी काम अलपत्र परेको छ ।

कार्यदल संयोजक रामबहादुर थापा बादल र ईश्वर पोखरेल क्रमशः गृह र रक्षामन्त्री छन् । त्यस्तै कार्यदलका अन्य सदस्यहरु गोकर्ण बिष्ट, वर्षमान पुन, गिरिराजमणी पोखरेल, रघुवीर महासेठ, मात्रिका यादव पनि मन्त्री भएका छन् ।

कार्यदलमा माओवादीबाट प्रतिनिधित्व गर्ने जनार्दन शर्मा बाहेक सबै मन्त्री भएका छन् भने एमालेबाट बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल बाहेक सबै मन्त्री भएका छन् । कार्यदलका प्रवक्ता गोकर्ण विष्ट मन्त्री भएपछि औपचारिक सूचना दिने व्यक्तिसमेत छैनन् ।

वर्षमान पुन र बेदुराम भुसालले तयार पारेको बिधानको प्रारम्भिक मस्यौदा कार्यदलका सदस्यहरुलाई दिइएपनि त्यसपछि बैठक बस्न सकेको छैन । त्यस्तै जनसंगठनहरुको एकीकरणको टुंगो लगाउन गिरिराजमणी र गोकर्णलाई जिम्मा दिइएको थियो । उनीहरु दुवै मन्त्री भएका छन् ।