चैत ६ काठमाडौं । प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका हुन् । प्रधानमन्त्रीले उनीहरुसँग बुधवार सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
प्रदेश सरकारका मन्त्रीहरु समेत काम नभएको भन्दै काठमाडौंतिरै भौतारिरहेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय प्रदेशका मन्त्रीलाई दिने गाडीसमेत छैनन् । प्रधानमन्त्री ओलीले सोमवारमात्रै मन्त्रीलाई दिने गाडी नभएकाले प्रदेशमा मन्त्रिपरिषद सानो बनाइएको बताएका थिए ।
प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला बुधवारको बैठकमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । प्रधानमन्त्रीले प्रदेश सरकार सन्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिनेछन् ।
प्रदेशसभा र प्रदेश सरकार सन्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ ।