चैत २६ मेलम्ची । सिन्धुपाल्चोकको दुई छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोड भन्ने ठाउँमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । त्यस्तै सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका एक तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको हो । बसमा सवार चारजना घाइते छन् । उनीहरुलाई उपचारका लागि राति नै काभ्रेको धुलीखेल अस्पताल पठाइएको छ ।
काठमाडौंबाट हेलम्बुको तिम्बुका लागि छुटेको ६३६५ नम्बरको बस गएराति साढे १० बजेतिर बसपार्क तिम्बु नजिकै दुर्घटना भएको हो ।
मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी सडकबाट करिब ३५० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा अन्दाजी ३५ वर्षीय चालक ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षी कमल स्यङ्बोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिए ।