सुनसरी ११ असार । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरीको जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले भँैसी गोठमा बसिरहेका बेला चौधरीलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।