मोरङ, १७ असार मोरङ जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण दर्जन बढी बस्ती बाढीको जोखिममा परेका हुन् । जिल्लामा बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केशलियालगायत ठूला नदीले वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको छ ।
बक्राहाका कारण मिक्लाजुङ गाउँपालिका– ६ मधुमल्ला, उर्लाबारी नगरपालिका–१ मेचेडाँगी, रतुवामाई नगरपालिका– ५ गोविन्दपुर, ९ र १० को इटहरा, सुनवर्षी नगरपालिका – ६ गाविन्दपुर र ७ को बरडंगा, पथरीशनिश्चरे–५ हसन्दहका बस्ती बाढीको अति जोखिममा रहेको बताइएको छ ।
यस्तै रतुवाका कारण रतुवामाई नगरपालिका– ८ र १० को इटहरा, ७ को सिजुवा, ३ को महादेवाका बस्ती बाढीको अति जोखिममा छन् । लोहन्द्रा नदीका कारण बेलवारी– ५ का मटियारी र धोकरधरका बस्ती पनि बाढीको जोखिममा परेका छन् ।गडिया खोलाका कारण सोराभाग र केसलिया खोलाका कारण विराटनगर महानगरपालिका– १२ दरैयाबस्ती र ४ को इग्राही बाढीको अति जोखिममा छन् । बाढीका कारण गत वर्ष मोरङमा १४ जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता हुनका साथै जिल्लामा तीन हजार ५०० बढी घरपरिवार विस्थापन भएका थिए ।