२१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले देउवा नेतृत्वका सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।संसदबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा निर्वाचन आयोगको सहमति लिएरै गरेको राजनीतिक नियुक्तिहरु खारेज गर्नु कानुनी व्यवस्थाको विपरीत रहेको ठहर काँग्रेसले गरेको छ ।कानूनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानूनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा गर्दछ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्ता निर्णयले कानुनी शासनको आधारशीलामाथि आक्रमण गर्ने र कानुनी राज्यको अवधारणालाई नै कमजोर बनाउने भन्दै कांग्रेसले यसलाई तत्काल फिर्ता लिन माग गरेको छ । नेपाली कांग्रेसले ओली सरकारले गरेको गैरकानूनी निर्णयको विरोध गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग समेत गरेको छ ।बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले १४ भदौपछि निर्वाचन आचार संहिता जारी भएको अवस्थामा सरकारले गरेको सबैखाले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।