असार २४ काठमाडौ ।
सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनलाइन मिडीयालाई निर्देशिका ल्याएर व्यावस्थित गरिने बताउनु भयो ।अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा राष्ट्रिय व्यक्तित्वमाथि समेत अफबाह फैलाउने गतिविधि बढेको छ भन्दै मन्त्री बाँस्कोटाले गलत काम गर्नेलाई कानूनी दायरामा ल्याउन आवश्यक देखिएको उल्लेख गर्नुभयो । मन्त्री बास्कोटाले सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोजेको नभई व्यावस्थित गर्न खोजेको बताउनुभयो ।
सञ्चार प्रविधिमन्त्री बाँस्कोटाले आफ्नै भूउपग्रह सञ्चालन गर्नु राष्ट्रको आवश्यकता र गौरवको विषय भए पनि प्राविधिक र आर्थिक क्षमताले धान्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न रहेको बताउनुभयो ।हुलाक सेवा अब परम्परागत ढंगले चल्न नसक्ने भएकाले यसलाई आधुनिक व्यवस्थापनका लागि गठित कार्यदलले काम अघि बढाएको जानकारी उहाँले दिनुभयो ।नेपाल टेलिकमको चौथो पुस्ता ९फोरजी० सेवालाई देशव्यापी विस्तार गर्न प्रक्रिया अघि बढाइए पनि केही निकायबाट अवरोध भइरहेको गुनासो गर्नुभयो । फोरजी सेवा विस्तारसँगै टुजी र थ्रीजी सेवालाई पनि थप व्यवस्थित र प्रभावकारी बनाइने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले अन्तरआबद्धता शुल्क तिर्न अटेर गर्ने दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई कानूनी दायरामा ल्याएरै छाडिने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । सिजी टेलिकम्युनिकेशन र युटिएलले क्रमशः १० करोड ८७ लाख र २३ करोड अन्तरआबद्धता शुल्क तिर्न बाँकी छ । नियामक निकाय नेपाल दूरसञ्चर प्राधिकरणलाई आगामी दुई महिनाभित्र बक्यौता रकम उठाइसक्न पत्राचार गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।