कञ्चनपुर, २९ असार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् ।
क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न निकै टेवा पुगेको निकुञ्जले जनाएको छ । दुई साताअघि मात्रै निकुञ्जको जासुसी क्यामराकै मद्धतले बागफाँटा नजीकको लगरघाट नजीक चोरी शिकारमा संलग्न भीमदत्तनगरपालिका–१९ का लौटन चौधरी र अमरसिंह रानालाई भरुवा बन्दूकसहित पक्राउ गरेको थियो ।क्यामेरामा दुवैले लगुना मारेर फकँदै गरेको अवस्थामा देखिएपछि पक्राउ परेका हुन् । राति १० बजे दुवै क्यामेरामा देखा परे, सोही आधारमा खोजतलास गर्दा १२ बजे निकुञ्जबाटै दुवैलाई पक्राउ गरिएको हो ।हाल दुवै निकुञ्जको हिरासतमा छन् ।