१ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।सरकारले जनविरोधी क्रियाकलाप र अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ ।महामन्त्री डा. शशांक कोइरालाले मंगलबार विज्ञप्ति जारी गरी संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट चलिरहेको भन्दै देशव्यापी आन्दोलन गर्नुपर्ने औचित्य प्रष्ट्याएका छन् । कांग्रेसले जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका भातृ तथा सुभेच्छुक संस्था, क्षेत्र, गाउँ र नगर इकाइलाई पनि निर्देशन जारी गरेको छ ।
अहिलेको सरकार संघीय संसद र प्रदेशसभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरेको, संघीय व्यवस्थाको भावना विपरीत अधिकारहरुको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रुपमा प्रस्तुत भएको विज्ञप्तिमा उल्लेख छ । संवैधानिक निकायलाई छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यवसायिक रुपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति सरकारले देखाएको कांग्रेसको ठहर छ ।
देउवा प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरु गैरकानूनी तरिकाबाट खारेज गरिएको, वृद्धभत्ता पाउने उमेर सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय र मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय कार्यान्वयन नगरेकोमा पनि कांग्रेसले असन्तष्टी जनाएको छ । यस्तै
कांग्रेसले डा. गोविन्द केसीको अनसन र आन्दोलनबाट सिर्जित परिस्थितिलाई गम्भीर रुपमा लिएको भन्दै देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुवहु विधेयकका रुपमा आउनुपर्ने माग गरेको छ ।
प्रधानमन्त्री केपी ओली गैरजिम्मेवार तरिकाबाट प्रस्तुत भएको भन्दै कांग्रेसले स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुले कानून मान्दै आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाउने स्वतन्त्रतामाथि वन्देज लगाइएको विरोधमा सडक आन्दोलनमा जानु पर्ने स्थिती आएको जनाएको छ ।