भरतपुर अस्पताललाई केन्द्रीय स्तरको बनाइने ।

0
2315

चितवन, १५ साउन सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी हाल अस्पतालमा छ सय शैयया सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रबिन खड्काका अनुसार राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुखलगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको छ ।
मुलुकको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित त्यसवरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो । काठमाडौँको प्रसुतिगृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल हो । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्ववतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालको आफ्नै नाममा ३१ बिगाहा ११ कट्ठा जग्गा रहेको छ । अस्पतालमा हाल प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ पढाई भइरहेको छ । अस्पतालमा सरकारी र विकास समितितर्फ गरी ६७२ कर्मचारी कार्यरत छन् । एक सय २३ चिकित्सक मात्र कार्यरत छन् ।