भारीबर्षाका कारण भक्तपुरको अधिकांश क्षेत्र डुबानमा हनुमन्ते पुल क्षेत्र भासियो ।

0
353

भक्तपुर, २० साउन भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आइतबार मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् । यहाँका बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन् । बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित भएका थिए । पानी घरभित्र पसेपछि घरको भुइँतलाका सबै सामान बिग्रिएका छन् । पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ ।

राधे राधे क्षेत्रका विद्यार्थी विद्यालय जान पाएनन् । बासिन्दा घरबाट बाहिर ननिस्कँदा कार्यालयसमेत जान नपाएको स्थानीयवासीले बताएका छन् । अरनिको राजमार्गस्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ ।त्यस्तै हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, डा इवामुरा अस्पताल, अक्सफोर्ड स्कूललगायत क्षेत्र डुबानमा परेको छ । वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचालन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसअघि गत असार २८ गते मध्यपुरथिमि क्षेत्र डुबानमा परेको थियो । यता भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।