काठमाडौँ, २२ साउन हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी संहिता, २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो ।
सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ । आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य हुनुका साथै यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ । बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने व्यवस्था हालसम्म थिएन ।