बैदेशिक रोजगार सञ्चय कोष कार्यदलको एनआरएनले गर्यो स्वागत ।

0
397

भदौ १ काठमाडौ ।गैर आवासीय नेपाली संघ एनआरएनले सरकारले गठन गर्ने लागेको बैदेशिक रोजगार सञ्चय कोष कार्यदलको स्वागत गरेको छ । एनआरएनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्नु विदेशमा रहेका नेपालीहरुको लागी महत्वपूर्ण कदमको जनाउँदै त्यसको स्वागत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको विदेशमा रहेका नेपालीहरुका लागी वैदेशिक रोजगार सञ्चय कोष कार्यदल गठन गरिने बताएका थिए ।
गैरआवसीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि अनवरत रुपमा लागि रहेको थियो । गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको एनआरएनले जनाएको छ । साथै गैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयार गरिएको र गैरआवासीय नेपाली संघले पटक पटक गरेको पहल अनुरुप मन्त्रालयले कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै एनआरएनले सरकारको कार्यबाट खुसी व्यक्त गरेको छ ।
हजारे अभियानको नाममा गैरआवासीय नेपाली संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तदारुकताका साथ निकट भविष्यमा कार्यन्वयनमा ल्याउने आशा एनआरएनले गरेको छ ।रोजगार
कोष गठनले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको प्रत्याभूती गर्नुका साथै कामदारहरुको बचतको बानी बसाल्नेछ र कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन भने देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्ने विश्वास गैरआवासीय नेपाली संघले गरेको छ ।
यस्तै एनआरएनले विदेशी नियोग मार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेश स्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकाय बीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएकोमा भन्दै सरकार प्रति हार्दिक आभार प्रकट गरेको छ ।