भदौ ५ काठमाडौं । आधा रातबाट नै भिडाभाड हुने कालिमाटी बजार मंगलबार सुनसान बन्यो । वर्षको एक दिन मात्र बन्द रहने बजार सरकारले ज्यादती गरेको भन्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन् । दैनिक झण्डै ७ सय टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन मात्रै तरकारी भित्रिएको थियो ।हिजो अनुगमनका क्रममा अवरोध गरेको भन्दै प्रहरीले कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले किसानहरुबाट तरकारी नै खरिद गरेनन् ।कालिमाटी बजार बन्द हुँदा बजारमा तरकारीको कालोबजारी हुने देखिएको छ ।
सरकारले तरकारीमा सिन्डिकेट गरेको भन्दै कडा रुपमा प्रस्तुत हुने बताइरहँदा मारमा भने जनता नै पर्ने गरेका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ। महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरे सम्म मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ।