काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा दश प्रतिशत बहाल कर उठाउने ।

0
1917

काठमाडौँ, ५ भदौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको काठमाडौं महानगरपालिकाले यस आर्थिक वर्षमा भने १० प्रतिशत बहाल कर उठाउने भएको छ । चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ ।
निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्गत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिस लगायत रहेका छन् । त्यस्तै घटना दर्ता –जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क रहने व्यवस्था गरेको छ । गतवर्ष १० हजार लिइँदै आएको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष दुई हजार ५०० कायम गरिएको छ । व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष २००० लिइँदै आएकोमा यसवर्ष एक हजार लिइने भएको छ । गएको वर्ष जग्गा दर्ता सिफारिसमा पाँच हजार लिने गरिएको थियो । त्यसलाई घटाएर यस वर्ष तीन हजार कायम गरिएको छ ।