अब ट्याक्सी चालकले अनिवार्य फ्लोरोसेन्ट ज्याकेट लगाउनुपर्ने ।

0
657

काठमाडौँ, ६ भदौ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६ सय ४५ ट्याक्सी सञ्चालनमा छन्महाशाखा र व्यवसायी सङ्घको आयोजनामा सुन्धाराबाट ५ सय ट्याक्सी चालकलाई ज्याकेट लगाएर सो कार्यको शुरुवात गरियो । कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले त्यस्तो ज्याकेट लगाएपछि यात्रुलाई चालक पहिचान गर्न सहज हुने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पोशाकले पेशागत मर्यादा र अनुशासन देखाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले सरकारले ट्याक्सीको भाडा निर्धारण र पार्किङका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।महाशाखाले उपत्यकामा सञ्चालित ट्याक्सीलाई फ्लोरोसेन्ट ज्याकेट लगाउनका लागि एक महिनाको समय दिएको छ । सो अवधिमा सबै ट्याक्सीले ज्याकेट नलगाए कानूनअनुसार कारवाही गरिने महाशाखाले जनाएको छ । यसअघि महाशाखाले माइक्रो तथा ठूला सवारी साधनका चालकलाई पोशाक लगाउन शुरु गरेपनि लागू हुन सकेको थिएन । महाशाखाले यसअघि उपत्यकामा चल्ने ट्याक्सीको छतमा पहेँलो रङ्ग लगाउनेदेखि ट्याक्सीभित्र ट्याक्सी नम्बर राख्नेसम्मका काम गरिसकेको छ ।