कञ्चनपुरमा जारी आन्दोलन अन्त्य गर्ने सहमति ।

0
817

भीमदत्तनगर, ९ भदौ कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध÷आन्दोलन बन्द गर्न सबैमा अपिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिवार बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो ।बैठकले तत्कालन विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरेको छ ।सर्वपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्तनगरपालिका–१८ का किशोर सनी खुनालाई शहीद घोषणा गर्न र मृतक खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिन सङ्घीय, प्रदेश नं ७ र स्थानीय नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले निर्मला हत्याकाण्डपछि भएका आन्दोलनका क्रममा घाइते भएकाको उपचार र शारीरिकरुपमा अशक्त भई कठिनाइ भएकाको जीविकोपार्जनका लागिसमेत सरकारसँग माग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।बैठकले आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्ति तोडफोडका साथै आगजनी, क्षति र भीड नियन्त्रणका क्रममा भएको बल प्रयोग विषयमासमेत छानबिन गरी दोषीलाई कारवाहीका माग गर्न गृहमन्त्रालयलाई आग्रह गरिएको छ ।सर्वपक्षीय बैठकमा बोल्दै उच्चस्तरीय छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले कञ्चनपुर आएपश्चात् घटनाका विषयमा जनमत बुझिसकेको बताउँदै निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।