काठमाडौँ, १२ भदौ । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् ।
छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण थालेको नेपाली टोलीका मुख्य प्रशिक्षकले बताएका छन् । नेपालले पहिलो चरणमा २३ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो । बन्द प्रशिक्षणमा भुटानमा हालै सम्पन्न यू–१५ साफ च्याम्पियनसीप खेलेका अधिकांश खेलाडी छन् । मुख्य प्रशिक्षक गंगा गुरुङसहित सहायक प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा विनोद महर्जन तथा टोलीको व्यवस्थापकमा नन्दकला थापा रहेका छन् ।
काठमाडौँमा आगामी असोज ३ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल असोज ३ गते फिलिपन्ससँग, दोस्रो खेल ५ गते म्यानमार तथा अन्तिम खेल ७ गते मलेसियासँग खेल्नेछ । छनोट प्रतियोगिताका सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने भएको छ ।