सल्यान, १८ भदौ । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिदाँ दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् । पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ । बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको स्थानीयबासीले बताउका छन् ।
घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको प्रहरीले बताएको छ । पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ । घटनास्थलमा सञ्चार सुविधा नभएकाले थप विवरण बुझन नसकिएको बागचौर नगरपालिकाका स्थानीयबासीले बताएका छन् ।
घटनालगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वर्षा नरोकिएको र पाँच घण्टा पैदल हिँड्नुपर्ने भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।