सुदूरपश्चिम र मध्यपश्चिममा धुमधामका साथ गौरा पर्व मनाइँदै ।

0
756

काठमाडौँ, १८ भदौ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । मध्य रातमा कृष्ण पक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गौरा एवं दुर्वाष्टमी पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउनुपर्छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाइदैँ आएको स्थानीयबासीले बताएका छन् । गौरापूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने र देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन रहेको छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्न नहुने मान्यता रहेको स्थानीयबासीले बताएका छन् । यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा लाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने धार्मिक परम्परा पनि छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।

देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ ।
अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताउनुभयो । अष्टमी तिथि भर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष अष्टमीमा अनुराधा नक्षत्र परेको र ज्येष्ठाले नभेटेकाले दुबोका पूजा गर्ने समितिले जनाएको छ ।