राष्टपतिद्धारा शिर्ष नेताहरुसंग रात्री भोज,सबैको भावना समेट्न सुझाव ।

0
607

संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्षनेताले संविधान लेखनमा भएको पछिल्लो प्रगतिका बारेमा राष्ट्रपति डा रामवरण यादवलाई जानकारी गराउनुभएको छ ।

Shital_Niwas02

आज साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा पुगी उहाँहरुले राष्ट्रपति डा यादवलाई संविधानका अधिकांश बुँदामा सहमति भएको र उपयुक्त दिन तोकेर जारी गर्ने जानकारी गराउनुभएको थियो ।

प्रमुख राजनीतिक दलका शीर्षनेता, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति र संविधान मस्यौदा समितिका सभापतिले संयुक्त रुपमा संविधान लेखनका बारेमा भएको प्रगतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराउँदै संविधान जारी गर्ने प्रक्रियाका बारेमा बताउनुभएको थियो ।

संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार पारिरहेको सन्दर्भमा राष्ट्रपति डा यादवसँग छलफल भएको हो ।

राष्ट्रपतिसँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुरा गर्दै संवाद समितिका सभापति डा बाबुराम भट्टराईले संविधान लेखनको पछिल्लो स्थितिबारे जानकारी माग भएकाले जानकारी दिन आफूहरु आएको बताउनुभयो ।

डा भट्टराईले भन्नुभयो, ‘‘संविधान लेखनको प्रगतिबारे जानकारी गराएपछि राष्ट्रपति डा यादवले खुसी व्यक्त गर्नुभयो र छिटो संविधान बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।’’

प्रमुख दलका शीर्षनेतालाई राष्ट्रपति डा यादवले छिटो संविधान लेखनको कार्य सम्पन्न होओस् भन्ने सदीक्षा व्यक्त गर्नुभएको र सबैको भावनालाई नयाँ संविधानमा समेट्नसमेत आग्रह गर्नुभएको थियो ।

संविधानमा सबै पक्षको भावना समेटियोस् र संविधान जारी भएपछि शान्तिको सुनिश्चितता कायम होओस् र त्यसरी अगाडि बढ्दा नै उपयुक्त हुन्छ भन्ने राष्ट्रपति डा यादवको सुझाव रहेको सभापति डा भट्टराईले जानकारी दिनुभयो ।

आफूहरुले हालसम्म भएको सबै प्रगति र प्रक्रियाबारे जानकारी गराएको बताउँदै सभापति डा भट्टराईले भन्नुभयो, ‘‘छिट्टै नै संविधानको विषयवस्तुलाई टुङ्गो लगाउँछौँ, शीर्षनेता सम्मिलित विशेष समिति र मस्यौदा समितिले संयुक्तरुपमा नै बाँकी रहेका विवादित विषयलाई टुङ्ग्याउने काम भइरहेको छ । आज पनि विवादित विषयमा छलफल भयो, सम्भवतः आइतबारसम्म सहमति गर्छौं । सोमबारसम्म मस्यौदा समितिबाट अन्तिम मस्यौदा संविधानसभामा प्रस्तुत गर्छौं र छिट्टै प्रक्रिया पु¥याएर संविधान जारी गर्छौं भन्ने प्रतिबद्धता हामीले जनाएका छौँ ।’’

सो अवसरमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, संवाद समितिका सभापति डा भट्टराई, मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाको सहभागिता रहेको थियो ।