काठमाडौं, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र परेका छन् ।
अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुव्र्यवहार गरिएको अलपत्र परेको भकिम्लीका छन्त्यालले टेलिफोन मार्फत परिवारमा जानकारी दिएका छन् । कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि साउदी गएका उनीहरुलाई कुटपिट गरी साथमा रहेको मोबाइल र पर्ससमेत खोसेर कम्पनीबाट निकाला गरेपछि समस्यामा परेको गुनासो गरेका थिए । अर्का पीडित मल्कबाङका घर्तीले आफुहर अलपत्र परेका र कम्पनीले निकालेपछि एक दिन सडकमै बिताएका र अहिले कहाँ बस्ने र के खाने त्यो पनि ठेगान नभएको बताएका छन् ।
आफूहरूको पासपोर्ट, लाइसेन्सलगायतका सबै कागजपत्र कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक यातना दिने गरेपछि दूतावास र श्रम अदालत धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबेपछि थप समस्या भएकाले आफूहरू नेपाल फर्कन चाहेको बताउँदै उनीहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरि दिनु आग्रह गरेका छन् ।