पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला सुरु ।

0
776

२१ भदौ, पोखरा । पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको छ । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित भएका छन् । सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गरेका छन् ।

अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल सुरु भएको छ । सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तयार पार्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले जानकारी दिएक छन् । भेलालाई स्वागत गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशले गति लिओस् भन्ने चाहेको बताएका छन् । अग्रगामी संविधान कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भेलाले सम्बोधन गर्ने भएका छन् ।